ताजा अपडेट

ट्रेन्डिङ

सरस्वती विद्यागृह भक्तपुरको पुरानो र प्रतिष्ठित विद्यालय – प्रमुख प्रजापति

Gyan Khabar

ज्ञानखबर संवाददाता

२६ फाल्गुण २०७९, शुक्रबार
468 पटक हेरिएको
सरस्वती विद्यागृह भक्तपुरको पुरानो र प्रतिष्ठित विद्यालय – प्रमुख प्रजापति

सरस्वती विद्यागृह माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार विद्यालय प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै उहाँले सरस्वती विद्यागृह भक्तपुरको पुरानो प्रतिष्ठित विद्यालयको रुपमा रहेको बताउँदै शिक्षक तथा कर्मचारीहरुले आफू कार्यरत शैक्षिक संस्थामा प्रतिबद्ध भएर लागे यसको विकास स्वतःस्फूर्त रुपमा हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार निर्माण, आर्थिक अनुदान कार्यलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयलाई छिटै अनुदान वितरण गर्ने तयारीमा रहेको बताउँदै विद्यालयहरुले पढाइका साथसाथै खेलकुद, साहित्यिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो ।

गरिबका छोराछोरीहरु पढ्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न सके धेरै लाभान्वित हुने बताउँदै उहाँले नेपालमा शिक्षालाई श्रमसँग जोड्न नसक्दा शैक्षिक संस्थाहरु बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा विकास भइरहेको बताउनुभयो ।

विद्यार्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउन जरुरी रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले सामुदायिक शिक्षालाई जोड दिँदै शिशुशालादेखि उच्च शिक्षा अध्ययन गर्ने आठ वटा कलेजहरु सञ्चालन गर्दै आएको र ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक तयारी समेत भइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षणमा गरिरहेको उल्लेखनीय कामको देशका अन्य स्थानीय तह र शैक्षिक संस्थाहरुले पनि अवलम्बन गरिरहेको बताउँदै सामदायिक शिक्षा राम्रो भए निजी विद्यालयहरु स्वतः रुपमा ओझेलमा पर्दै जाने बताउनुभयो ।

विद्यालयका प्रअ दिनेश वैद्यले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल इसीडीतर्फ प्लेग्रुपदेखि युकेजीसम्म ७६ जना, कक्षा १ देखि कक्षा ५ सम्म ८९ जना, कक्षा ६ देखि ८ सम्म ७६ जना र कक्षा ९ देखि १० सम्म ३३ गरी २७४ जना विद्यार्थीहरु अध्ययतरत रहेको बताउनुभयो । उहाँले सबैको सहयोगमा विद्यालयको भौतिक सुधार एवम् निरन्तर शैक्षिक गुणस्तर अभिवृद्धि गर्न उपयुक्त शैक्षिक योजनासहित कार्यान्वयन गर्न विद्यालय परिवार दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, पूर्व व्यवस्थापन समिति अध्यक्ष कृष्णमान वनमाला, पूर्व प्रअ पुन्यराम सुवाल, पूर्व विद्यार्थी नारायणप्रसाद ह्यौंमिखा, विद्यालयका शिक्षक ध्रुवलाल हमाल, शिक्षिका शोभा नेपाल, मन्दिरा कुँवरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सरस्वती विद्यागृहका पूर्व प्रअ र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।