ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

Gyan Khabar

ज्ञानखबर

आइत, साउन ७, २०८०
392 पटक हेरिएको
वागीश्वरीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

वागीश्वरी माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०८०-०८१ का लागि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार विद्यालयले एक समारोहबीच स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षक तालिम केन्द्र धुलिखेलका प्रमुख रुद्रहरि भण्डारीले कतिपय विद्यालयमा १० वर्षपछि फर्केर आउँदा न साइनबोर्ड हु्न्छ, न नाम नै हुन्छ, तर स्थानीय जनता, शिक्षक र पूर्व विद्यार्थीहरुको सहयोगी हातबाट बनेको वागीश्वरीले नमूना क्रियाकलाप गरेकै कारण बागमती प्रदेशभित्र छनोट भएका २० विद्यालयमध्ये उत्कृष्ट नमूना विद्यालयमा छनोटमा परेको बताए । उनले नयाँ जोश, जाँगर र उमंगका साथ आएका विद्यार्थीहरुले त्यसलाई कायम गर्न सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उनले शिक्षाबाट व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने जिकिर गरे । जग दह्रो छैन भने जुनसुकै बेला ढल्ने बताउँदै उहाँले चौतर्फी विकासका लागि विद्यार्थीहरु मेहनती, लगनशील र इमान्दार हुनुपर्ने बताए ।

वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाअध्यक्ष रविन्द्र ज्याख्वले सामुदायिक शैक्षिक संस्था वागीश्वरीले समाजलाई बुद्धिजीवीकरण गर्न, प्राज्ञिक व्यक्ति तयार गर्न तथा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तयार गरिरहेको बताए । उनले भक्तपुरलाई देशकै शैक्षिक हब बनाउने भक्तपुर नगरपालिकाको लक्ष्यलाई वागीश्वरीले साकार पारिरहेको भन्दै ७७ वटै जिल्लाका विद्यार्थीहरुले उज्वल भविष्य र उच्च शैक्षिक गन्तब्यका साथै रोजगारीको प्रस्थानविन्दुका रुपमा वागीश्वरीलाई रोजेकोमा उहाँले खुशी व्यक्त गरे । सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराध निम्त्याएको प्रति सचेत गर्दै उहाँले पढाइका लागि अतिआवश्यक कुरा मात्र लिएर सही सदुपयोग गर्न मार्गनिर्देश गरे ।

bagi 11 orientation gyan1

वागीश्वरी मावि कक्षा ११-१२ का संयोजक ज्ञानसागर प्रजापतिले डलरका लागि विदेशी दास हुनेहरु जिउँदो लास मात्रै भएको बताउँदै आफ्नो पढाइलाई स्वदेशमै सदुपयोग गर्न जोड दिए । उनले वागीश्वरीले देशका लागि आवश्यक असल र संस्कारी नागरिक तयार गरिरहेको स्पष्ट पार्दै उच्च जीपीएसँगै संस्कारको उच्चता पनि आवश्यक रहेको औंल्याउदै वागीश्वरीको इतिहासबारे जानकारी गराउँदै उहाँले नमूना वागीश्वरी बनाउन सबैको योगदान रहेको स्मरण गरे ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले उच्च शिक्षा अ्रध्ययन गर्नेका लागि वागीश्वरीले विभिन्न शीर्षकका छत्रवृत्तिको व्यवस्था गरेको बताउँर्दै उहाँले त्यसलाई प्राप्त गर्न विद्यार्थीहरुले मेहनत गर्नुपर्ने बताए । उहाँले विदेशमोहलाई त्यागेर देशको लागि केही गर्ने सोचेर अध्ययन गर्न जोड दिए ।

सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले विद्यार्थी आचार संहितालाई विद्यार्थीहरुले पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. उकेश सुवाल, प्लसटु व्यवस्थापन संकायका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहाललगायतले नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको थियो । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुबाट गीत प्रस्तुती भएको थियो । कक्षा ११ को कक्षा सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।