ताजा अपडेट

ट्रेन्डिङ

उत्पादनमलक शिक्षाको लागि शिक्षा विधेयककमा नीतिगत संशोधन अनिवार्य

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ असोज २०८०, मङ्गलबार
162 पटक हेरिएको
उत्पादनमलक शिक्षाको लागि शिक्षा विधेयककमा नीतिगत संशोधन अनिवार्य

सत्यराम कासिछ्वा

नेपालको सामुदायिक विद्यालयका अधिकांश शिक्षक कुनै न कुनै राजनीनिक दलका सदस्य छन् । राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा प्रत्यक्ष र सक्रिय रुपमा शिक्षक संलग्न हुनुको पछाडि समाजको तल्लो तहमा जनताको दैनिकीसँग प्रत्यक्ष संलग्न र सरोकार राख्नु नेपाली समाजको वास्तविकता हो । यसरी राजनीतिक दलले शिक्षकलाई अधिवेशन, सम्मेलनमा प्रतिनिधि बनाइ पेशागत सुरक्षा दिने नाउँमा दलनिकट संगठनमा प्रवेश गराएर कार्यकर्ताको रुपमा उभ्याउने संस्कार बसाएको छ ।

शिक्षकहरु पनि आफ्नो पेशागत सुरक्षासँगै सरुवा र बढुवामा आफूले चाहे अनुसारको सहजतामा राजनीतिक दलले सहयोगी भूमिका निभाउनेमा ढुक्क छन् । दलनिकट शिक्षकहरु लामो समयसम्म कक्षाकोठामा नपुगी सरकारी सेवा र सुविधा बुझ्ने प्रवृतिलाई अन्त्य गर्न हाल संसदमा पेश गरिएको विधेयकमा शिक्षक निर्धारित समयमै विद्यालय पुगी अध्यापन गर्नुपर्ने र सम्भव भएसम्म विदाको स्वीकृति नलिई विद्यालयमा अनुपस्थित हुन नहुने उल्लेख भएपछि आफ्नो असजहता देखिएर संगठनमा आवद्ध शिक्षकहरु आन्दोलित भएका छन् ।

संविधानसभाबाट जारी भएको संघीयता कार्यान्वयनको एक दशक पुग्न लागेको बेला शिक्षा ऐन निर्माण अत्यावश्यक छ । यही सिलसिलामा स्थानीय सरकारको जिम्मेवारी तथा उत्तरदायित्व बहनका लागि माध्यमिक तहसम्म संविधानले दिएको काम कर्तव्य अनुरुप शिक्षकको सेवासुविधा निर्धारण तथा नियुक्ति, सरुवा, बढुवामा आफ्नो अनुकूल सहजता नहुने भएपछि शिक्षक संगठनहरुको दबाबमा संघीय संविधान विपरित जिशिकालाई पुनस् व्युँताउने प्रस्ताव नयाँ शिक्षा ऐनमा समेटिएको छ । साथै संचालन भएका र पछि संचालन हुने निजी विद्यालयलाई नाफारहित गुठीमा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने बुँदालाई उनीहरुकै स्वार्थ बमोजिम चलाउन दिने शिक्षा ऐन ल्याउन खोजेको छ ।

२०७२ असोज ३ मा जारी भएको संविधानमा माध्यमिक तह कक्षा १२ सम्मको शिक्षाको दायित्व अन्तर्गत सञ्चालन तथा व्यवस्थापनमा स्थानीय सरकारको हुने व्यवस्थालाई समेत खोसेर केही सीमित शिक्षक तथा सरोकारवालाको स्वार्थको रुपमा प्रदेश सरकारमा लगेर संघीय सरकारको मातहतमा ल्याउने चलखेल भइरहेको छ । यसले विगतमा नसुध्रिएको शिक्षा अब फेरि संघीय वा केन्द्रिय सरकारमा लगेर शिक्षालाई लथालिङग बनाउन खोज्दैछ ।
शिक्षकको सेवासुविधालाई ध्यानाकषिर्त गर्दै शिक्षकहरूको आन्दोलन पुनः सुरु भएको छ ।

शिक्षाशास्त्र क्षेत्रको आवश्यकतामा विधेयक र आन्दोलन शिक्षकहरु मौन
हुन त शिक्षा विधेयककमा शिक्षक नियुक्तिको एक मात्र क्षेत्र शिक्षाशास्त्रको उत्पादन नै हो भनेर किटान नगरी दिँदा विगतमा आफ्नो अध्ययन क्षेत्रको समाप्तिपछि रोजगारी नपाएको अवस्थामा सोधखोज, भनसुन तथा राजनीतिक आस्था वा शक्तिको आधारमा नियुक्ति लिने र गर्ने अवस्था छ । त्यसपछि दुर्गम क्षेत्रको छुट्याएको एकवर्षे विएड जथाभावी गरेर अध्यापन अनुमति अर्थात् लाइसेन्स लिने र स्थायी परीक्षामा सम्मिलित भएर उतीर्ण हुने तर विद्यार्थीको सिकाई स्तरमा सुधार उपलब्धीमूलक गर्ने प्रवृति छैन । यसले गर्दा समग्र देशमा साक्षरता बढे तापनि विद्यार्थीहरुको सिकाई उपलब्धी खस्केको छ ।

एसईई वा एसएलसीमा ए प्लस वा उच्च ग्रेड ल्याउनेलाई विज्ञान र व्यवस्थापन संकाय भन्दा शिक्षाशास्त्र संकाय अध्ययनको लागि उत्साहित र वातावरण समाजमा निर्माण गर्न शिक्षकले जोड दिनुपर्दछ । यसले समग्र विद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्दछ । साथै विद्यालयमा अध्यापन हुने अनिवार्य विषयहरुको पनि शिक्षाशास्त्रमा थप्दै विद्यालयमा चाहिने शिक्षकहरु सहजै पाउन सकिन्छ । अन्य संकायलाई पनि व्यवहारिकतामा धाल्न विश्वविद्यालयका प्राध्यापकहरु लाग्नैपर्दछ ।

विद्यालय व्यवस्थापन समिति गठन नीति
सामुदायिक तथा सरकारी विद्यालयको व्यवस्थापन समितिमा विद्यालयमा अध्ययनरत अभिभावक मध्येबाट उच्च शैक्षिक योग्यता भएका अभिभावकलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनुपर्छ । उक्त समितिमा सम्बन्धित वडाका अध्यक्ष वा वडा सदस्य २ जना, समाजसेवी तथा चन्दादाता २ जना, सदस्य सचिवको रुपमा विद्यालयका प्रअ र शिक्षक १ गरी २ जना र अन्य अभिभावक २ गरी कम्तिमा ९ सदस्यीय व्यवस्थापन समितिको गठन गर्ने सकिने कुरा विधेयकमा राख्न आवश्यक छ ।

निजी विद्यालयको स्थानान्तरण नीति
शिक्षाको उद्देश्य अज्ञानता हटाएर ज्ञानको ज्योति प्रदान गर्नु हो । यसैलाई मध्य नजर गरेर सामुदायिक वा सरकारी विद्यालय पुग्न नसकेको ठाउँमा निजी विद्यालय संचालन गर्न सकिन्छ । विगतमा जनतालाई ज्ञानको ज्योति दिलाउन स्थानीयहरु प्रशासनसँग लडेर समुदायको हितको लागि सार्वजनिक विद्यालय संचालन गर्दा हिजोआज सरकारी विद्यालयको मान्यता पाएका छन्, र त्यहाँ कार्यरत शिक्षकहरुलाई सरकारले नै तलब दिँदै आएको छ । तर हिजोआज नयाँ व्यवस्था र नयाँ शिक्षाको नाउँमा सरकारी विद्यालय भएकै ठाउँमा नजिकै निजी विद्यालयहरुले नाफा कमाउन अङ्ग्रेजी माध्यमलाई जोडतोडका साथ चलाइँदै आएको छ । निजी विद्यालयहरुले सरकारी विद्यालय नपुगेको ठाउँमा विद्यालय संचालन गरेको भए ती विद्यालयलाई पनि सरकारीकरण गर्न सकिन्छ र त्यहाँ कार्यरत शिक्षकको तलब पनि सरकारले दिन सकिन्थ्यो ।

हिजोआज सरकारी विद्यालय पनि अङ्ग्रेजी माध्यमको शिक्षालाई जोड दिँदै आएको छ । केन्द्रीकृत निजी विद्यालयको प्रतिस्पर्धात्मक आकर्षक, झिलिमिली वातावरणका कारण सरकारी विद्यालयमा विद्यार्थी न्यून हुँदा सरकारको तलब खाने शिक्षकहरुलाई अध्यापनमा असहज अवस्था सृजना भएको छ । यस्तो अवस्थामा अब निजी विद्यालयहरु स्थानान्तरणको लागि शिक्षा विधेयकमा नीति बनाउन आवश्यक छ ।

उत्पादनमूलक शिक्षा नीति
नेपालमा उपलब्ध कृषि, पशुपन्छी, जटिबुटी, सम्पदा, पर्यटन, जलविधुत तथा विविध खानीहरुको औद्योगिक क्षेत्रमा आवश्यक जनशक्ति तथा कच्चा स्रोत साधनको उत्खनन गर्ने सोच सहितको शिक्षा आजको आवश्यकता हो । यसले नेपाली समाजमा भएको परम्परा र संस्कृतिको क्षयीकरणलाई कम गर्दै देशभक्त सच्चा नागरिक तयार गर्न सघाउ पुग्दछ । साथै नेपालको समृद्धिको यात्रालाई सहयोग पुर्याउन विदेश पलायन हुने नयाँपस्ताका विद्यार्थी तथा युवाहरुलाई समेत रोक्न सकिन्छ ।

गणतान्त्रिक संघीयतामा शैक्षिक प्रशासन नीति
राजतन्त्रमा राजाहरुले आफ्नो शासन व्यवस्थालाई लामो समयसम्म टिकाइ राख्न स्थायी र पेन्सनको व्यवस्था गरेको हुन्छ । २०६२/६३को १९ दिने जनान्दोलन र तत्कालीन सात राजनीतिक दल तथा माओवादी सम्मिलित सरकारको माध्यमबाट संविधानसभाको चुनाव भई गणतन्त्र हुँदै २०७२ असोज ३ गते संघीय, प्रदेश तथा स्थानीय सरकारको परिकल्पनालाई २ पटकको निर्वाचनले अभ्यास गर्दै आएको छ ।

राजतन्त्र फालेको २ दशक पुग्नै लाग्दा समेत नेपालमा विबिध प्रशासनमा काम गर्ने विभिन्न तह तप्कामा काम गर्ने शिक्षक लगायत अन्य सम्पूर्ण कर्मचारीहरुले राजतन्त्रमै पाएको सेवा र सुविधाहरु उपभोग गर्दै आएका छन् । साथमा महङ्गी भत्ता, पोशाक भत्ता, चाडपर्व खर्च स्वरुपको बोनस पनि । यो पनि एक राजतन्त्रकै एक अवशेष भएको कारण राजतन्त्रमा व्यवस्था भएका शैक्षिक लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्रलाई व्यवस्था सुहाउँदो र प्रतिस्पर्धी बनाउन स्थायी, पेन्सन, महङ्गी भत्ता, पोशाक भत्ता तथा चाडपर्व खर्च स्वरुपको बोनसलाई खारेज गर्नुपर्दछ । शैक्षिक तथा अन्य प्रशासनमा आवद्ध सम्पूर्ण तहतप्काका शिक्षक लगायत अन्य सम्पूर्ण कर्मचारीहरुलाई कार्यघण्टाका आधारमा तलब र अन्य सुविधा दिएमा देशमा बहुसंख्यकले रोजगारी पाउन सम्भव हुन्छ ।

यसर्थ बहुसंख्यक नयाँ पुस्तालाई देशभक्त सहित स्वदेशमै रोजगारीको लागि उत्पादनमूलक शिक्षा नीति र योजना बनाउन वर्तमान शिक्षा विधेयकलाई नीतिगत रुपमा संशोधन गर्न आवश्यक छ ।