ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर २३, २०८०
462 पटक हेरिएको
वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा २०८० कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिको आतिथ्यमा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि प्रजापतिले अरू कसैको सहयोगमा भन्दा पनि आफ्नै मिहिनेत परिश्रमबाट संस्थालाई नमुना बनाउने प्रयास गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक संस्था बिगारेर निजी संस्था पोस्ने विचार घातक रहेको चर्चा गर्दै उहाँले आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै पारदर्शिता अँगालेर जनताको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । शिक्षक कर्मचारी मिहिनेती, परिश्रमी, अनुशासित भए मात्रै वागीश्वरी शैक्षिक संस्था राम्रो हुने चर्चा गर्दै उहा“ले शिक्षक कर्मचारीहरू देशको आवश्यकताअनुसार भोलि राजनीतिमा आएर पनि देश र जनताको सेवा गर्नुपर्ने हुन सक्छ भने ।

वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको वागीश्वरी आजका शिक्षक कर्मचारीको मिहिनेतले मात्र बनेको नभई पूर्वजको योगदानलाई नबिर्सन आग्रह गरे । सामुदायिक भावना, देशभक्त नागरिक उत्पादनको जिम्मेवारीबोध आजको आवश्यकता रहेको चर्चा गर्दै उनले शैक्षिक गुणस्तरमा विशेष जोड दिए । उनले भने– “शैक्षिक गुणस्तर नै जनताको विश्वास जित्ने हाम्रो बलियो आधार हो ।”

सभामा +२ संयोजक ज्ञानसागर प्रजापतिले अनावश्यक खर्च जोगाउनु पनि आम्दानी भएकाले मितव्ययितामा ध्यान दिन सुझाव दिए । कोषका अध्यक्ष धनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि शुभकामना मन्तव्य दिएका थिए ।

शिक्षक विश्वेश्वर मानन्धरले पनि बोलेको सभामा उपस्थित रमेश गोसाई, दिनेश प्रधान, सविन्द्र प्रजापतिलगायतले कोषको लागि विभिन्न सुझावहरू दिएको थिए भने सभाध्यक्ष प्र.अ. कृष्णप्रसाद धन्छाले प्राप्त सुभावहरूमाथि कोष सञ्चालक समितिमा छलफल गर्ने र त्यसलाई विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षमताअनुसार काम गर्ने विश्वास दिलाए ।

सभाले रु. १ करोड १६ लाख १० हजार ५२८ रूपैयाको वित्तीय अवस्था रहेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो भने आगामी ३ वर्षको लागि धनकुमार श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कोष सञ्चालक समिति पनि चयन गरेको थियो ।