ताजा अपडेट

ट्रेन्डिङ

पुर्वाञ्चल बिश्वबिद्धालयमा यो सत्रमा पनि एआई कोर्स संचालन नहुने

Gyan Khabar

ज्ञानखबर

शुक्र, पुस १३, २०८०
258 पटक हेरिएको
पुर्वाञ्चल बिश्वबिद्धालयमा यो सत्रमा पनि एआई कोर्स संचालन नहुने

पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष पनि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी. टेक. इन एआई) को पढाइ नहुने भएको छ । विद्यार्थी सिट क्षमता ४८ भएको कोर्समा एक जना विद्यार्थी मात्र भर्ना हुन आएपछि उक्त कार्यक्रमको अध्यापन लगातार दाेस्राे वर्ष रोकिएको हो ।

विश्वविद्यालयले यस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी पहिलो पटक गत साउन ३२ गते सूचना प्रकाशित गरेको थियो । त्यस्तै असोज २६ गते दोस्रो सूचना निकाल्दै फारम भर्ने म्याद थप गरेको थियो र तेस्रोपटक मंसिर २४ गते पुन: प्रवेश परीक्षा सम्बन्धी सूचना निकाल्यो ।

याे शैक्षिक कार्यक्रमको पर्याप्त प्रचारप्रसारको अभाव, उच्च शिक्षामाथि विद्यार्थीको घट्दो आकर्षण, विश्वविद्यालयको कमजोरी आदिका कारण कोर्स अध्ययन गर्न विद्यार्थी नआएकाे विश्लेषण गरिएको छ।

विश्वविद्यालयका फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डीन मनोज कुमार हलुवाईले विद्यार्थी नपाउनुमा कोर्सको प्रचार गर्न नसक्नु र यसबारे विद्यार्थीलाई बुझाउन नसक्नु कमजोरी भएको बताए। “कोर्स चलाउन गर्नुपर्ने कार्य डीन कार्यालयले गरिरहेको छ । कोर्स पढाउने आङ्गिक कलेजले पनि काम गरेकै हो । यद्यपि दुई वर्षसम्म पनि कोर्स चलाउन नसक्नुमा हाम्रो पनि  केही कमिकमजोरी नै अवश्य छन्.” उनले भने, “तर पाठ्यक्रम र स्थानका कारण विद्यार्थी नपाएको भन्ने होइन । कोर्सबारे विद्यार्थी तथा अभिभावकलाई प्रष्ट पार्न नसक्दा हामीले विद्यार्थी नपाइरहेको भने हो ।”