ताजा अपडेट

ट्रेन्डिङ

कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचना प्रविधि तालिम

Gyan Khabar

ज्ञानखबर संवाददाता

२५ पुस २०८०, बुधबार
164 पटक हेरिएको
कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचना प्रविधि तालिम

कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ ।

चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू सहभागी छन् ।

कोरियाली सरकारको लुपिक प्रोजेक्टको सहकार्यमा जनता आदर्श बहुमुखी क्याम्पसमा बी एडमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ । कोरियाली प्रोफेसर सु ह्युन ली र लुपिक प्रोजेक्ट अन्तर्गत कोरियामा विद्यावारिधी गर्दै गरेका पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक नितिन भगतले विद्यार्थीहरूलाई तालिम दिइरहेका छन् ।

बिगत तीन वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयले लुपिक प्रोजेक्टको सहकार्यमा जनता आदर्श बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र अन्तर्गत स्नातक तहमा विशेष आवश्यकता शिक्षा अध्यापन गर्दै आएको छ ।

जनता आदर्श बहुमुखी क्याम्पसले शिक्षा शास्त्र अन्तर्गत चार वर्षे बीएड, एक वर्षे बीएड, दुई वर्षे एमएड, सामाजिक कार्य अन्तर्गत चार वर्षे बीएसडब्लु र दुई वर्षे एमएसडब्लु अध्यापन गराउँदै आएको छ ।

तालिमको शुभारम्भ गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले अहिलेको युगमा सूचना प्रविधिको शिक्षा जुनसुकै विषय अध्ययन गर्नेलाई पनि उपयोगी हुने जानकारी दिए ।

लुपिक प्रोजेक्ट अन्तर्गत सञ्चालित विशेष आवश्यकता शिक्षाले सबै नागरिकलाई शिक्षामा पहुँचमा पुर्‍याउने उपकुलपति कोइरालाले बताए ।

विशेष आवश्यकता शिक्षा लिने जनशक्ति नभएका कारण अझै पनि आँखा नदेख्ने, कान नसुन्ने, वौद्धिक अपाङ्ग, सुस्त मनस्थिती लगायतको पहुँचमा शिक्षा पुग्न नसकेको भन्दै उपकुलपति कोइरालाले विशेष आवश्यकता शिक्षाले यो आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे ।

कोरियाली प्रोफेसर लीले सबैको पहुँचमा शिक्षा पुर्‍याउन विशेष आवश्यकता शिक्षा सहयोगी हुने बताए ।