ताजा अपडेट

ट्रेन्डिङ

आधारभूत विद्यालय समिति भक्तपुरको रजत जयन्ती सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२ चैत २०८०, शुक्रबार
158 पटक हेरिएको
आधारभूत विद्यालय समिति भक्तपुरको रजत जयन्ती सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको बताउँदै प्रत्येक युवाहरूलाई विश्वविद्यालयको सर्टिफिकेटसँगै सीपमूलक ज्ञान दिने प्रयास गर्दै आएको बताए ।

आधारभूत विद्यालय समिति भक्तपुरको २५ औं वार्षिकोत्सव (रजत जयन्ती २०८०) को अवसरमा बुलेटिन बिमोचन तथा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यार्थीहरूलाई स्थानीय विषयहरूमा अध्ययन अध्यापन गराउँदै आइरहेको बताए ।

भक्तपुर नपाले युवाहरूलाई रु.५ लाखसम्मको उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएको बताउँदै उनले भक्तपुर नपाले शिक्षा सँगसँगै व्यवहारिक र सीपमूलक तालिमलाई जोड दिँदै आएको बताए । साथै आधारभूत विद्यालयलाई राम्रो बनाउन विद्यालयको आवश्यकताअनुसारको भौतिक विकासको लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए।

आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समितिले विद्यार्थीको रुचि र चाहनाअनुसारका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताए ।

नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयालले भक्तपुरको शिक्षा विकासमा आधारभूत विद्यालयहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै भक्तपुरको शिक्षा प्रगतिउन्मुख हुँदै गइरहेको बताए ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ समिति कल्पना ज्ञवालीले भक्तपुरले शिक्षा रुपान्तरणमा धेरै फड्को मारिसकेको बताउँदै विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक र सीपमूलक ज्ञान प्रदान गर्नु आजको आवश्यकता भएको बताए । उनले विद्यार्थीहरूलाई श्रम गर्न र श्रमको सम्मान गर्न सिकाउनुपर्छ भने ।

उक्त कार्यक्रममा आधारभूत विद्यालय समितिका सञ्चालक सदस्य पुष्पलाल सुजखू, शिक्षक प्रतिनिधि नरेन्द्रप्रसाद जोशी, समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा र समितिका सूर्य फोँजुले पनि बोलेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले अवकाशप्राप्त शिक्षकहरूलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने आधारभूत विद्यालय समितिको रजत जयन्तीको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थी र विद्यालयहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुले सांस्कृतिक विधा प्रस्तुत गरेका थिए ।