ताजा अपडेट

ट्रेन्डिङ

पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२८ चैत २०८०, बुधबार
67 पटक हेरिएको
पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ वार्षिकोत्सव सम्पन्न

चाँगुनारायण नयरपालिका ८ , सुडालस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राखे । उनले भने, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”

सांसद सुवालले दुई सय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्न सक्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद गीता काफ्ले, चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, जिल्ला शिक्षा विकास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइँतुइँ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिहर तिमिल्सिना, विद्यालयका प्रअ नारायणप्रसाद दुलाल, सहायक प्रअ प्रकाश तजलेलगायतले शिक्षा सुधारका लागि सबै एक जुट हुनु पर्ने बताए ।

कार्यक्रममा स्वार्गिय लोचना मल्लको सम्झनामा नातिनी समृद्धि मल्ल र नाति लक्ष्यजित मल्लले दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारको छात्रवृत्ति प्रदान गरिएको थियो । भक्तपुरको बाल मन्दिर स्कुलकी प्रअ समेत रहनुभएकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दिनमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई नेपालमा प्रचलित नोटहरूको प्रदर्शनी समेत गरिएको थियो । नेपालमा कस्ता नोटहरू प्रचलनमा आए ० अङ्क देखि १० लाख नम्बर सम्मका दुर्लभ नोटहरूको विषयमा विद्यार्थी तथा अभिभावकलाई ज्ञान दिने हेतुले उक्त प्रदर्शनी आयोजना गरिएको थियो । नेपालको पैसा सबैले देखेका छन् तर पुरानो पैसा एकै किसिमका नम्बरका पैसा तथा ० अङ्कका नोट साथै नोटको पुस्तान्तरणका विषयमा नेपालीहरू अनविज्ञ नै छन् यस्तो अनविज्ञतालाई चिर्न साथै नेपाली पैसाको महत्व दर्साउन नोटहरु प्रदर्शनीमा राखेको नोट प्रदर्शनीमा उपस्थित मन्जित मल्लले बताए ।