ताजा अपडेट

ट्रेन्डिङ

शिक्षाशास्त्रको अध्ययन प्रति शिक्षासेवी र बुद्धिजिवीको सजगता खोई ?

Gyan Khabar

ज्ञानखबर संवाददाता

१ ब‌ैशाख २०८१, शनिवार
171 पटक हेरिएको
शिक्षाशास्त्रको अध्ययन प्रति शिक्षासेवी र बुद्धिजिवीको सजगता खोई ?

सत्यराम कासिछ्वा, शिक्षा संकाय अध्ययनले हामीलाई समाजमा रहेका बालबालिका तथा अन्य मानव समुदायको उमेरगत व्यवहारलाई बुझ्न सहज हुन्छ । यदि मानवीय व्यवहारलाई सानैदेखि बुझ्ने हो भने शिक्षाशास्त्र संकायको अध्ययन गर्न जरुरी छ ।

विद्यालयका विद्याथीहरुको मनोभावना बुझेर शिक्षण गर्ने हो भने तिनीहरुमा आवश्यक ज्ञान सीप तथा धारणा निर्माण गर्न सकेमा देशको लागि उपयोगी जनशक्ति तयार गर्न सकिन्छ । तर अहिले अन्य विषयक्षेत्र अध्ययन गरे पश्चात रोजगारी नपाएको बाध्यात्मक अवस्थामा शिक्षा नीतिलाई चुनौति दिँदै एउटै ठाउँमा केन्द्रिकृत भई खोलिएका निजी विद्यालयको कारण विद्यालय सेवामा प्रवेश गरेर रोजगारीमा सहभागी हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।

विद्यालय सेवाको लागि शिक्षाशास्त्रको अध्ययन गर्नुपर्छ भन्ने बाध्यात्मक नीति नियम नबन्दा शिक्षाशास्त्र पढ्नेहरु प्रति अन्याय गरेको छ । शिक्षा शास्त्र पढ्नेहरु विद्यालयमा पढाउने जस्ता सेवामा प्रवेश गर्ने बाहेक अन्य विकल्प छैन तर अन्य संकायको विद्यालय शिक्षणमा सहज प्रवेशले शिक्षा क्षेत्रमा जीवनोपयोगी सीप दिनुपर्छ भन्ने मान्यता रहेनन् । जसको कारण शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीको दिनानदिन घट्दै आएको छ ।

शिक्षाशास्त्र संकायमा देशको लागि आवश्यक जनशक्ति जस्तै शिक्षक लगायत बकिल, पत्रकार, अर्थविद्, लेखापाल, सूचना प्रविधिको प्रशासकका लागि आवश्यक आधारहरु तय हुँदै आएको छ । यसैमा शिक्षा मनोविज्ञान, पाठ्यक्रम पाठयोजना निर्माण, शिक्षाका दर्शन तथा समाजशास्त्रीय आधारको अनिवार्य अध्ययन व्यवहारिक प्रयोगको रुपमा विद्यालय शिक्षणका लागि नेपाली, अंग्रेजी, विज्ञान, गणित, लेखा, अर्थशास्त्र, कार्यालय संचालन, कम्प्युटर, भूगोल, इतिहास, वातावरण, जनसंख्या, स्वास्थ्य शिक्षा विषयहरु आवश्यकता अनुसार अध्ययन गर्न सकिन्छ ।

विभिन्न प्रकारका परीक्षा मुख्य गरेर एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएपछि समाज र टोलमा उच्च ग्रेड A+ वा B+ आएपछि विज्ञान र व्यवस्थापन तथा C+ र त्यो भन्दा कम ग्रेड आएमा मानविकी पछि शिक्षाशास्त्र पढ्न सकिने समाजमा होडबाजीको संस्कार तथा नीति योजना समेत बनेको छ । हुन त यो बेला विद्यार्थीहरु विषय छनोटमा आफ्नो ग्रेड वा जीपीए सँगै परिवारको दबाबमा पर्ने गरेका छन् ।

कम जीपीए र ग्रेड ल्याएका विद्यार्थीहरुले शिक्षाशास्त्र पढ्छन् भन्ने मानसिकता रहेका कारण उच्च ग्रेड र जीपीए ल्याएका विद्यार्थीहरुलाई शिक्षाशास्त्र संकायको अध्ययनमा रुचि जगाउन नसक्दा अन्य विषय क्षेत्रको अध्ययन पश्चात रोजगारीको लागि विद्यालय सेवामा प्रवेशले झण्डै ३ दशक भन्दा लामो समयदेखि मौलिक शिक्षा नेपाली माटो अनुकूलको शिक्षा क्षेत्र तहसनहस बन्न पुगेको छ ।

व्यक्तिगत स्वार्थ भन्दा पनि देशको भविश्यलाई मध्य नजर गरेर विषयहरुको छनोट विज्ञता हासिलले देशलाई समृद्धको बाटोमा दोहोर्याउनु नयाँ पुस्ताको दायित्व हो । आखिर जुनसुकै विषय रोजे तापनि सोही अनुरुप समाजमा रहेका मानवीय व्यवहारलाई बुझेर समाजमा स्थापित हुने संस्कृतिको सीप सिक्न जरुरी छ ।

शिक्षाशास्त्र संकायलाई कम महत्व दिँदा विद्यालयका लागि आवश्यक जनशक्ति तथा विज्ञहरुको अभाव देखिएर विद्यालय तथा विश्वविद्यालयको शिक्षामा उपयुक्त धारणा निर्माण, सीप र ज्ञान हासिल गर्न सकिरहेका छैनन् । यसले गर्दा विदेशी अनुदानको दबाबमा शिक्षा नीति र योजना निर्माणले नेपालको माटो सुहाउँदो भन्दा पनि विदेशको लागि उपयुक्त जनशक्ति निर्माण भइरहेको छ । यसले देशको आर्थिक तथा सामाजिक एवम् सांस्कृतिक परिवर्तनमा नकारात्मक असर पर्न सक्दछ ।

यसर्थ देशको शैक्षिक क्षेत्र उकास्न र समृद्ध राष्ट्र निर्माणको लागि उच्च ग्रेड वा जीपीए का विद्यार्थीको रोजाई शिक्षा शास्त्रप्रति रुचि जगाउन बुद्धिजीवि र शिक्षासेवीहरुको हात र मार्गनिर्देशन हुनु आवश्यक छ ।