भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि १५१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरी शैक्षिक ऋण वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कुनै पनि नगरबासी विद्यार्थीहरु आर्थिक कारणबाट उच्च शिक्षाबाट बञ्चित हुन नपरोस् उद्देश्यका साथ भक्तपुर नपाले सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्दै आइरहेको बताए । शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताउँदै उहाँले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्ने बताए ।
भक्तपुर नपाले भक्तपुर महोत्सवको आयोजना गरी भक्तपुरको कला संस्कृति, मौलिक आदिबारे संसारमा प्रचारप्रसार गर्ने उद्देश्य राखेको बताउँदै उहाँले नगरबासी विद्यार्थीहरुलाई सजिलैसित चिकित्सा शिक्षा पढ्ने अवसर प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापनाको अवधारणा अगाडि सारेको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शैक्षिक ऋण बाहेक पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको प्रष्ट पारे । उहाँले सबै विषयको समान महत्व हुने बताउँदै विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढंगले आफ्नो पढाइलाई निरन्तरता दिन पनि प्रेरित गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाको शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै लागि उदाहरणीय कार्य भएको बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना दिए । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरुले विदेश जाने सोचबाट टाढा रहन आग्रह गर्दै उहाँले शैक्षिक ऋण कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै विद्यार्थीहरुलाई नगरपालिका र नगरबासीहरुप्रति उत्तरदायी बन्न प्रेरित गरे ।
भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पुर्याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो र विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुँदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि ६०० जना विद्यार्थीहरुलाई नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण दिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा यस आ.व. २०८१।८२ मा १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेको समेत गरी कुल ७५१ जनाले रु. ५ लाखको शैक्षिक ऋण सुविधा लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् । शैक्षिक ऋण स्वीकृत भएकामध्ये जम्मा ४५४ जना विद्यार्थीहरुले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको छ भने ५१ जनाले ऋण चुक्ता गरिसकेको छ । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार ऋण लगानी भएको छ भने रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भइसकेको छ ।
त्यसबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा शैक्षिक संस्थाहरुमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।