ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौँ उपत्यकाका विद्यालयहरूमा वैशाख ११ देखि भर्ना र १५ देखि पठनपाठन सुरु हुने

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख ९, २०८३
100 पटक हेरिएको
काठमाडौँ उपत्यकाका विद्यालयहरूमा वैशाख ११ देखि भर्ना र १५ देखि पठनपाठन सुरु हुने

काठमाडौँ उपत्यका मेयर्स फोरमले उपत्यकाभित्रका सबै विद्यालयहरूमा आगामी शैक्षिक सत्रको भर्ना र पठनपाठनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। फोरमको वैशाख ९ गते बसेको बैठकले नेपाल सरकारको निर्णयबाट सिर्जित अन्योलतालाई चिर्दै उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्न नयाँ मिति तय गर्ने निर्णय गरेको हो।

मेयर्स फोरमको निर्णयअनुसार उपत्यकाका सबै पालिकाहरूमा नयाँ विद्यार्थी भर्ना अभियान २०८३ वैशाख ११ गतेदेखि सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख १५ गतेदेखि अनिवार्य रूपमा सञ्चालन गरिनेछ। नेपाल सरकार, मन्त्रिपरिषद्ले वैशाख १५ देखि भर्ना र २१ देखि पठनपाठन गर्ने सूचना जारी गरे तापनि शिक्षा नियमावली अनुसार शैक्षिक सत्र वैशाख १ मै सुरु हुनुपर्ने प्रावधान रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने पूर्ण अधिकार स्थानीय तहलाई दिएकाले सोही संवैधानिक अधिकार प्रयोग गर्दै यो नयाँ तालिका तय गरिएको हो।

सरकारको पछिल्लो सूचनाले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा क्षति पुग्न सक्ने निष्कर्ष निकाल्दै फोरमले यो कदम चालेको हो। यो निर्णय लिनुअघि गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, शिक्षक महासंघ, प्रिन्सिपल एसोसिएसन (PAN), प्याब्सन, एनप्याब्सन र अभिभावक संघ लगायतका सरोकारवाला निकायहरूसँग व्यापक छलफल र सुझाव लिइएको विज्ञप्तिमा उल्लेख छ।

देशमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै फोरमले विद्यालयहरूलाई विशेष तयारीका लागि समेत आग्रह गरेको छ। आगामी दिनमा इन्धन अभाव बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र पठनपाठन अवरुद्ध हुन नदिन अनलाइन कक्षा लगायतका वैकल्पिक उपायहरूको पूर्वतयारी गर्न सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ। फोरमका अध्यक्ष चिरिबाबु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखित यो निर्णयले उपत्यकाका सबै पालिकामा शैक्षिक सत्र सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।