ताजा अपडेट

ट्रेन्डिङ

नेशनल लाईफ इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच सम्झौता: प्रस्तावक र कर्मचारीलाई विशेष सहुलियत

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख ९, २०८३
39 पटक हेरिएको
नेशनल लाईफ इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच सम्झौता: प्रस्तावक र कर्मचारीलाई विशेष सहुलियत

विगत ३९ वर्षदेखि जीवन बीमा व्यवसायमा अग्रणी स्थान बनाउन सफल निजी क्षेत्रको पहिलो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र दक्षिण एसियाली स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच एक महत्वपूर्ण मेडिकल सेवा सम्झौता सम्पन्न भएको छ।

कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने गरी हस्ताक्षर भएको हो।

सम्झौता अनुसार, नेशनल लाईफ इन्स्योरेन्सको बीमालेख (पोलिसी) खरिद गर्न चाहने प्रस्तावकहरूले अब आफ्नो मेडिकल रिपोर्टका लागि ग्राण्डी हस्पिटलबाट विशेष प्राथमिकता पाउनेछन्। बीमाका लागि आवश्यक पर्ने मेडिकल जाँचहरू सहुलियत दरमा, छिटो-छरितो र सर्वसुलभ तरिकाले सम्पन्न गरी रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसले नयाँ ग्राहकहरूलाई बीमा प्रक्रियामा सहजता थप्ने विश्वास गरिएको छ।

यो सम्झौताले नेशनल लाईफमा कार्यरत कर्मचारीहरूलाई पनि प्रत्यक्ष लाभ पुर्‍याउनेछ। कम्पनीका कर्मचारीहरूले ग्राण्डी हस्पिटलमा स्वास्थ्य उपचार गराउँदा प्रचलित शुल्कमा १० प्रतिशत छुट सहित सहुलियत दरमा उपचार सुविधा प्राप्त गर्नेछन्। “यस प्रकारको सहकार्यबाट हाम्रा बीमा प्रस्तावक र कर्मचारीहरूले स्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउनेछन्,” कम्पनीले जनाएको छ।

नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्ना र इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

आफ्ना ग्राहकलाई आकर्षक बोनस दर प्रदान गर्दै आएको नेशनल लाईफले यस सम्झौतामार्फत आफ्ना सरोकारवाला वर्गको हित र सुविधालाई थप सुदृढ बनाएको छ।