ताजा अपडेट

ट्रेन्डिङ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, बैशाख ११, २०८३
39 पटक हेरिएको
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४औँ वार्षिकोत्सव सम्पन्न

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो स्थापनाको १४औँ वर्षगाँठ एक विशेष समारोहका बीच भव्यताका साथ मनाएको छ। शुक्रबार केन्द्रको आफ्नै परिसरमा आयोजित कार्यक्रममा केन्द्रले गत एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको छ।

समारोहलाई सम्बोधन गर्दै केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले गत आर्थिक वर्ष २०८२ वैशाखदेखि चैत्र मसान्तसम्मको उपलब्धि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार यस अवधिमा केन्द्रले २१३ जनाको सफलतापूर्वक मृगौला प्रत्यारोपण र ३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। साथै सोही अवधिमा करिब ४० हजार सेसन हेमोडाइलाइसिस सेवा प्रदान गरिएको जानकारी दिँदै उहाँले केन्द्रले एक वर्षमा गरेको प्रगतिको समीक्षा गर्नुभयो। हालसम्म केन्द्रले कुल १,६१३ जनाको मृगौला र ३६ जनाको कलेजो प्रत्यारोपण गरी देशकै अग्रणी अंग प्रत्यारोपण केन्द्रको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

कार्यकारी निर्देशक डा. श्रेष्ठले यो सफलता केन्द्रमा कार्यरत चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षागार्ड र सरसफाइकर्मीहरूको अहोरात्रको खटाइ र प्रतिबद्धताको परिणाम भएको बताउनुभयो। उत्साहजनक सफलताका बावजुद केन्द्रले भौतिक पूर्वाधारको गम्भीर अभाव झेलिरहेको तर्फ ध्यानाकर्षण गराउँदै उहाँले केन्द्रको नाममा आफ्नै जग्गा र भवन नहुँदा थप सेवा विस्तारमा असहज भएको बताउनुभयो। उहाँले भवन निर्माणका लागि उपयुक्त जग्गाको व्यवस्था गरिदिन सम्बन्धित सबै पक्षसँग विशेष अनुरोध समेत गर्नुभयो।

वार्षिकोत्सवको अवसरमा केन्द्रले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। नर्सिङ इन्चार्ज एलिसा श्रेष्ठले नगद पुरस्कार र सम्मानपत्र सहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्नुभयो। त्यसैगरी डा. निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बल राम पाउँलाई २०८२ सालको उत्कृष्ट कर्मचारीका रूपमा घोषित गरी सम्मान गरिएको थियो। सोही अवसरमा मृगौला प्रत्यारोपण सर्जरीमा एक वर्षे फेलोशिप सफलतापूर्वक सम्पन्न गर्नुभएका डा. विकास खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो।

hotcgk1

कार्यक्रमका प्रमुख अतिथि एवं मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले बिरामीको उपचारमा कर्मचारीहरूले पुर्‍याएको सेवा र सहयोगको उच्च सम्मान गर्नुभयो। उहाँले केन्द्रको विकासका लागि आफू र विकास समिति सदैव सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

केन्द्रले हालसम्म १२७८ पुरुष र ३३५ महिला गरी कुल १६१३ जनाको मृगौला प्रत्यारोपण गरेको छ भने ३२ पुरुष र ४ महिला गरी जम्मा ३६ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ। केन्द्रले वार्षिक ४० हजार सेसन भन्दा बढी हेमोडाइलाइसिस सेवा प्रदान गर्दै आएको छ।