ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरको बासु माविमा निःशुल्क सूचना प्रविधि विषय पढ्न सकिने

Gyan Khabar

ज्ञानखबर

बुध, भदौ २७, २०८०
1481 पटक हेरिएको
भक्तपुरको बासु माविमा निःशुल्क सूचना प्रविधि विषय पढ्न सकिने

भक्तपुरको ब्यासीस्थित बासु माध्यामिक विद्यालयमा यस वर्षदेखि निःशुल्क रुपमा प्रि–डिप्लोमा तह सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने भएको छ ।

बुधबार विद्यालयमा आयोजित सो कार्यक्रमबारे स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवीहरुको छलफल कार्यक्रममा विद्यालयले निःशुल्क अध्यापन हुने सो विषयमा जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयले सञ्चालन गर्न लागेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम उत्पादन श्रमसंग जोडिएको शिक्षा भएकोले बढी प्रभावकारी रहने बताए। उनले उत्पादन श्रमसंग गाँसिने शिक्षाले प्रशिक्षार्थीहरुमा श्रमप्रति माया बढ्ने र हातमा सीप भएको व्यक्ति बेरोजगार भएर बस्न नपर्ने बताए ।

औद्योगिक प्रशिक्षार्थी तालिममा सहभागी हुने विद्यार्थीहरुले अध्ययनकै क्रममा उद्योगमा कामसंगसंगै आम्दानी पनि गर्नसक्ने हुँदा विशेषगरी काम खोजीरहेका न्यून आर्थिक अवस्थाका विद्यार्थीहरुलाई कार्यक्रमले सहयोग पुग्ने विचार अध्यक्ष बासुकलाको थियो । उनले भक्तपुर नगरपालिकाले चाँडै नै युवा उद्यमीहरुलाई ऋणको व्यवस्था गर्ने तयारी गरिरहेको पनि जानकारी गराए।

Basu Diploma IT

कार्यक्रमका अतिथि एवं शिक्षासेवी गणेश प्रसाद सुवालले बासु माविमा नयाँ कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे। उनले निःशुल्क रुपमा अध्ययन गर्न सकिने सो कार्यक्रमलाई व्यापक कामदार जनताहरुमा पुर्याउन सम्पूर्णले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

ख्वप ईन्जिनियरिङ कलेजमा सूचना तथा सञ्चार विषय अध्यापनरत विद्यालयका पूर्व विद्यार्थी ई. नरेश खत्रीले अहिलेको समय सूचना प्रविधि र कृत्रिम बौद्धिकताको चरणमा प्रवेश गरिसकेको हुँदा सबैजनाले सूचना प्रविधिबारे ज्ञान लिइ राख्नुपर्ने बताए।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक रविलाल प्रधानले सम्पूर्ण सहभागीमा स्वागत गरेका थिए । साथै प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रमका विषयमा डिप्लोमा इन कम्प्युटर ईन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले प्रस्तुति गरेका थिए।

IMG 7192 min

निःशुल्क रुपमा सञ्चालन हुने औद्योगिक प्रशिक्षार्थी तालिममा एसएलसी उतीर्ण वा एसइइ परिक्षामा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । साथै आबद्ध हुने प्रशिक्षार्थीहरुले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित उद्योग/कम्पनीहरुमा २० महिना न्यूनतम तलबसहित काम गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा भर्ना हुन यहि असोज २ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ भने असोज ६ गते शनिबार लिखित परीक्षा तथा अन्तर्वार्ता हुने विद्यालय स्रोतले जनाएको छ ।