भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा २६ पुसमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले देशको आर्थिक मेरुदण्डका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगको उत्थानका लागि मन्त्रालयले विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले अहिलेको प्रविधिमैत्री युगमा ई-कमर्स, घरेलु उत्पादन मेला र कोशेली घर जस्ता कार्यक्रमको ठूलो महत्व रहेको चर्चा गर्दै भक्तपुरमा एउटा व्यवस्थित ‘कोशेली घर’ स्थापनाका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै, बागमती प्रदेशको मुख्य पहिचान हस्तकला भएको उल्लेख गर्दै उहाँले निकट भविष्यमै हस्तकला दिवस मनाउने विषयमा छलफल भइरहेको र उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याहरू जिल्लास्थित कार्यालयमार्फत मन्त्रालयमा पेश गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले स्वदेशी वस्तु खरिद निर्देशिका जारी गरे पनि त्यसको प्रभावकारी पालना नगर्दा साना उद्यमीहरू झन् ओझेलमा परेको गुनासो गर्नुभयो। कोरोना महामारीको कठिन समयमा ठूला उद्योगहरू बन्द हुँदा समेत साना उद्योगले नै देशको अर्थतन्त्र धानेको स्मरण गर्दै उहाँले राज्यले अझै पनि यी उद्योगको मर्म बुझ्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो।
त्यस्तै, महासंघका उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले औद्योगिक निगम विकास प्रतिष्ठानमार्फत प्रदान गरिने ५ देखि २० लाख रुपैयाँसम्मको विना धितो सहुलियतपूर्ण कर्जाको सुविधाबारे जानकारी गराउनुहुँदै इच्छुक उद्यमीहरूलाई समयमै आवेदन दिन आह्वान गर्नुभयो।

भक्तपुरको रैथाने पहिचान र पर्यटनलाई जोड्ने सन्दर्भमा गो लोकलका संयोजक वीरेन्द्र जति र भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन भइरहेका प्रयासहरूबारे प्रकाश पार्नुभयो। शर्माले विगत ७ वर्षको निरन्तर मेहनतपछि भक्तपुरका १५ वटा उत्पादनलाई रैथाने उत्पादनको रूपमा सूचीकृत गरी प्रवद्र्धन गरिरहेको जानकारी दिनुभयो।
संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा र उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले उद्यमीहरूको हकहित संरक्षण र सीपमूलक तालिमका माध्यमबाट दक्षता अभिवृद्धि गर्न कार्यालय र संघ सधैँ क्रियाशील रहेको बताउनुभयो।

सोही अवसरमा भक्तपुरको स्थानीय सीप र स्रोतको उपयोग गरी उद्यमशीलतामा विशिष्ट योगदान पुर्याउने न्यू जगाति राईस मिलका प्रोपाइटर महेन्द्रमान श्रेष्ठ र हेल्पिङ्ग हाण्ड्स फेल्ट क्राफ्टका प्रोपाइटर राजु भडेललाई ‘वर्षको उत्कृष्ट घरेलु उद्यमी सम्मान २०८२’ बाट सम्मानित गरियो।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभामा महासंघका विभिन्न तहका पदाधिकारीहरू, चम्बर अफ कमर्श तथा साना तथा मझौला व्यवसायी संघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अन्तमा प्रमुख अतिथि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

