नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) र नेपाल इन्जिनियरिङ परिषद् (NEC) को संयुक्त आयोजनामा नवोदित इन्जिनियर तथा आर्किटेक्टहरूका लागि सञ्चालित “Professional Orientation and Career Empowerment” विषयक विशेष तालिम पुष २४ गते भव्य रूपमा सम्पन्न भएको छ।
कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स (E&E), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन (E&C) र सूचना प्रविधि (IT) इन्जिनियरिङ विधामा भर्खरै परिषद्बाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका ११६ जना युवा इन्जिनियर तथा आर्किटेक्टहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको समापन अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको व्यावसायिक यात्राको सफलताको कामना गरिएको थियो।
तालिममा विभिन्न क्षेत्रका विज्ञहरूले सहभागीहरूलाई इन्जिनियरिङ पेशाको मर्यादा, बजारको माग र करियर विकासका रणनीतिका बारेमा महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा वक्ताका रूपमा आफ्नो धारणा राख्दै नेपाल इन्जिनियरिङ परिषद्का बोर्ड सदस्य इ. अम्बिका महत, आईओई पुल्चोक क्याम्पसका सह-प्राध्यापक इ. डा. सुरेन्द्र श्रेष्ठ र ई-गभर्नेन्स आयोगका सीईओ इ. दिपेश विष्टले प्रविधिको तीव्र विकाससँगै इन्जिनियरहरूले आफूलाई निरन्तर अपडेट राख्नुपर्नेमा जोड दिनुभयो।

यस कार्यक्रमलाई सफल बनाउन नेपाल इन्जिनियरिङ परिषद् समन्वय समितिका अध्यक्ष इ. भरत प्रसाद बन्जारा र उहाँको सम्पूर्ण टोलीले समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आयोजकले विशेष आभार व्यक्त गरेको छ। NEA र NEC बीचको यो सहकार्यले नयाँ पुस्ताका इन्जिनियरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दक्ष र प्रतिस्पर्धी बनाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।
परिषद्बाट लाइसेन्स प्राप्त नयाँ जनशक्तिलाई कार्यक्षेत्रमा प्रवेश गर्नुअघि आवश्यक व्यावहारिक ज्ञान र व्यावसायिक आचरण सिकाउने उद्देश्यले यस्ता तालिमहरूलाई निरन्तरता दिने एशोसिएसनको योजना रहेको छ। कार्यक्रमले नयाँ इन्जिनियरहरूलाई प्राविधिक दक्षताका साथै पेशागत जिम्मेवारी र नेतृत्व क्षमता विकासमा समेत थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

