भक्तपुरमा आयोजित भव्य जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा विनायक शिक्षा निकेतनकी छात्रा अमृता गोलेले स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेर विद्यालयको गरिमा बढाउनुभएको छ।
“ट्राफिक नियमको पालना विकसित समाजको परिचय हो” भन्ने मूल विषयमा केन्द्रित रहेर आयोजना गरिएको उक्त प्रतियोगितामा आफ्नो प्रखर र तार्किक प्रस्तुति पस्कँदै उहाँले जिल्लाभरिका विद्यालयहरूलाई पछि पार्नुभएको हो।
जिल्ला ट्राफिक कार्यालय चुनदेवीको आयोजना र जिल्ला प्याब्सन भक्तपुरको समन्वयमा ‘ट्राफिक सप्ताह-२०८२’ को अवसर पारेर यो बौद्धिक प्रतिस्पर्धा सञ्चालन गरिएको थियो। आज पुस २९ गते भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताको नतिजा घोषणा गर्दै विजेताहरूलाई पुरस्कृत गरिएको छ।
उक्त पुरस्कार वितरण समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीज्यूले प्रथम स्थान विजेता अमृता गोलेलाई नगद पुरस्कार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गर्नुभयो। साथै, सोही अवसरमा विद्यालयलाई सिल्ड र प्रशंसा-पत्र हस्तान्तरण गर्दै उहाँले विद्यार्थीहरूको यस्तो सक्रियता र चेतनाले नै समाजमा ट्राफिक अनुशासन कायम गर्न ठुलो मद्दत पुग्ने बताउनुभयो।
विनायक शिक्षा निकेतनले आफ्ना विद्यार्थीहरूलाई सधैँ यस्ता चेतनामूलक र सिर्जनशील मञ्चहरूमा सहभागी गराउँदै आएको छ। यो ठुलो सफलताले विद्यालय परिवारमा उत्साह थपेको छ भने मध्यपुर थिमी क्षेत्रकै शैक्षिक स्तर र विद्यार्थीहरूको प्रतिभालाई पुनः एकपटक राष्ट्रिय सुरक्षा निकायको उच्च तहबाट सम्मान र पहिचान दिलाएको छ।