ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीको समय र लगानी जोगाउन त्रिविको अपिल, पुनः प्रवेश परीक्षा नहुने

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ २, २०८२
345 पटक हेरिएको
विद्यार्थीको समय र लगानी जोगाउन त्रिविको अपिल, पुनः प्रवेश परीक्षा नहुने

त्रिभुवन विश्वविद्यालयले निर्धारित शैक्षिक सत्र र शैक्षिक पात्रोलाई पूर्ण रूपमा कार्यान्वयन गर्न अवरोध पुर्‍याउने कुनै पनि गतिविधि नगर्न सरोकारवाला सबैसँग विशेष आग्रह गरेको छ। रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी विज्ञप्ति मार्फत विश्वविद्यालयले गुणस्तरीय उच्च शिक्षा तोकिएको समयभित्रै उपलब्ध गराउनु आफ्नो मुख्य दायित्व भएको र सो प्राप्त गर्नु विद्यार्थीको अधिकार भएको स्पष्ट पारेको छ।

विश्वविद्यालयले शैक्षिक तथा प्राज्ञिक निकायहरूमा हुने तालाबन्दी, हड्ताल, आगजनी र तोडफोड जस्ता गैरप्राज्ञिक गतिविधिहरूले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर पारिरहेको प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यदि तोकिएको शैक्षिक सत्रभित्र विद्यार्थीहरूले उपाधि प्राप्त गर्न नसकेमा उनीहरूले थप समय र लगानी खर्चनु पर्ने अवस्था सिर्जना हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै सन्दर्भमा, विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको शैक्षिक पात्रो अनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नरहेको जानकारी समेत गराइएको छ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन अन्तर्गत पर्ने रजिस्ट्रेसन, कक्षा सञ्चालन, परीक्षा फाराम सङ्कलन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन जस्ता कार्यहरू शैक्षिक पात्रो कार्यान्वयनका महत्वपूर्ण पक्षहरू हुन्। त्यसैले, शैक्षिक वातावरणमा अवरोध पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन र देखा परेका समस्याहरूको समाधानका लागि वार्ता र संवादका विधिसम्मत माध्यमहरू अपनाउन विश्वविद्यालयले विद्यार्थी, शुभेच्छुक र सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ। यो सूचना २०८२ साल वैशाख २ गते जारी गरिएको हो।

FB IMG 1768573125620