सिन्धुपाल्चोकको बारबिसेमा प्राकृतिक स्रोतमा आधारित उद्यमहरूको प्रवर्द्धन र जलवायु वित्तका चुनौती तथा अवसरहरूका बारेमा सरोकारवालाहरूबीच एक विशेष कार्यशाला गोष्ठी २०८२ माघ ३ गतेका दिन सम्पन्न भएको छ। फरेस्ट एक्सन नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्यमी र वित्तीय क्षेत्रका प्रतिनिधिहरूले भाग लिएका थिए।
बारबिसे नगरपालिकाकी उपमेयर मन्जु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा डा. मिना बोहराले ‘प्राकृतिक स्रोतमा आधारित उद्यममा जलवायु वित्तको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका बीच कसरी उद्यमहरूलाई दिगो बनाउन सकिन्छ र यस क्षेत्रमा लगानीका अवसरहरू के-के छन् भन्नेबारे प्रस्ट पार्नुभयो।
फरेस्ट एक्सन नेपालका फिल्ड संयोजक कमल भण्डारीले संस्थाले विगत चार वर्षदेखि बारबिसे क्षेत्रका उद्यमीहरूसँग सहजीकरण गर्दै आएको जानकारी दिनुभयो।
संस्थाकी वरिष्ठ उपाध्यक्ष कन्चन लामाले महिला उद्यमीहरूको सशक्तीकरणमा जोड दिनुभयो। उहाँका अनुसार बारबिसे र त्रिपुरासुन्दरी क्षेत्रमा सिस्नु, थुन्चे, डोका, नाङ्लो, कुचो, ठेकी र नर्सरी जस्ता उद्यम सञ्चालन गर्न फरेस्ट एक्सन नेपालले आवश्यक सीप, ज्ञान र प्रविधि सहयोग गर्दै आएको छ। यसले स्थानीय महिलाहरूलाई स्वरोजगार बन्न प्रत्यक्ष मद्दत पुगेको उहाँले बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि एवं बारबिसे नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिमल पौड्यालले उद्यमका लागि वडाले निःशुल्क जग्गा उपलब्ध गराएर नर्सरी व्यवस्थापनमा सहज गरिदिएको बताउनुभयो। उहाँले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा समेत वडाले सक्रिय भूमिका खेलिरहेको र आगामी दिनमा उद्यमीहरूलाई आवश्यक बजेट विनियोजन गरी थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख अतिथि उपमेयर मन्जु तामाङले नगरको तर्फबाट उद्यमीहरूका लागि बजार प्रवर्द्धन र बजेटको उचित योजना बनाएर अगाडि बढ्ने आश्वासन दिनुभयो। उहाँले स्थानीय स्रोतको परिचालन गरी आयआर्जन बढाउने कार्यमा नगरपालिका सधैं उद्यमीहरूको साथमा रहने उल्लेख गर्नुभयो।
ग्राण्ड होटलको हलमा आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष ङिमा शेर्पा, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे, र फरेस्ट एक्सन नेपालकी अनुसन्धानकर्ता सृजना सिग्देल लगायतको उपस्थिति थियो। कार्यक्रममा विभिन्न सहकारी तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।