मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले अभूतपूर्व सफलता प्राप्त गरेको छ। भक्तपुरको सृजनानगरस्थित पाथीभरा एकेडेमीले यस विश्वस्तरीय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्दै नेपाली शैक्षिक गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा सानदार ढङ्गले उचालेको छ। नेपाल, भारत र मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको यस प्रतियोगिताले अबाकस र वैदिक गणित शिक्षाको बढ्दो विश्वव्यापी महत्वलाई पुनः पुष्टि गरिदिएको छ।
यस ऐतिहासिक प्रतिस्पर्धामा पाथीभरा एकेडेमीका कक्षा ६ मा अध्ययनरत विद्यार्थी यसुमन लामाले लेभल X3B मा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन्। उनको यो उपलब्धिले विद्यालयको मात्र नभई भक्तपुर र समग्र नेपालकै प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको छ। विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद सिटौलाका अनुसार यो सफलता विद्यार्थी, अभिभावक र शिक्षकहरूको निरन्तर परिश्रम र समर्पणको साझा प्रतिफल हो। उहाँले भविष्यमा पनि नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट बनाउन विद्यालय सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभएको छ।
दक्षिण एसियाली विकास बैंक लिमिटेड (UK), रे फाउन्डेशन (भारत), प्यासिफिक एलायन्स ग्रुप (मलेसिया) लगायतका संस्थाहरूद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रमको अध्यक्षता डा. जरिफ मेननले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि मलेसिया बिजनेस चेम्बर भियतनामका पूर्व अध्यक्ष दातुक डा. एम. शिमी रहनुभएको थियो भने अन्य प्रतिष्ठित व्यक्तित्वहरूको समेत विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको आधिकारिक मिडिया सपोर्ट भोइस अफ एसिया इन्टरनेशनल न्यूजले प्रदान गरेको थियो।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूले देखाएको अद्भुत गति, उच्च एकाग्रता र जटिल गणितीय प्रश्नहरू समाधान गर्ने क्षमताको प्रशंसा गर्दै अध्यक्ष डा. मेननले उनीहरूले क्याल्कुलेटर र डिजिटल उपकरणलाई समेत पछि पारेको बताउनुभयो। अबाकस शिक्षाले गणितीय दक्षता मात्र नभई बालबालिकाको स्मरणशक्ति, अनुशासन, संज्ञानात्मक विकास र तार्किक सोचमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा आयोजकहरूले जोड दिएका छन्। यस सफलताले नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम मात्र नभई उत्कृष्टता हासिल गर्न पनि सधैँ अग्रसर रहेको सन्देश विश्वभर फैलाएको छ।