प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइने विश्व मृगौला दिवस यस वर्ष पनि “Kidney Health for All – Caring for People, Protecting the Planet” भन्ने मूल नाराका साथ देशभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। विश्वभर बढ्दो मृगौला रोगको प्रकोप, यसको पहिचान, उपचार र रोकथामका उपायबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले आयोजित यस दिवसका अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विशेष पदयात्रा तथा औपचारिक कार्यक्रमको आयोजना गर्यो।
बिहान ८:३० बजे केन्द्रबाट सुरु भएको ‘मृगौला पदयात्रा’ (Kidney Walk) मा धिमे बाजा, जनचेतनामूलक ब्यानर र प्लेकार्डसहित करिब ६०० जनाको सहभागिता रहेको थियो। उक्त र्याली नपुखु, भक्तपुर दरबार स्क्वायर, साकोठा, टौमडी, पोटरी स्क्वायर, नासमना, बंशगोपाल, तेखापुखु र भार्वाचो हुँदै भक्तपुर मिनी बस पार्क पुगेर पुनः केन्द्रमै फर्किएर समापन भएको थियो। र्यालीमा स्वास्थ्यकर्मी, अंग फेल भएका बिरामी, प्रत्यारोपित व्यक्तिहरू र सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिन्थ्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय सुधा शर्मा गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा केन्द्रले हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्नुभयो। उहाँले हालसम्म १,५८६ जनाको मृगौला र ३६ जनाको कलेजो सफल प्रत्यारोपण भइसकेको जानकारी दिँदै दैनिक १५० जनालाई डायलाइसिस सेवा प्रदान गरिरहेको बताउनुभयो। साथै, केन्द्र साँघुरो स्थानबाट सञ्चालन भइरहेकाले सेवा विस्तारका लागि यथाशक्य जग्गा उपलब्ध गराइदिन उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
मानव अंग प्रत्यारोपण विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले यस केन्द्रलाई विशिष्टीकृत ‘Center of Excellence’ को रूपमा विकास गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। प्रमुख अतिथि मन्त्री सुधा शर्माले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको परिकल्पना गरेको स्मरण गर्दै राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको उच्च सराहना गर्नुभयो। उहाँले केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफू पदमा रहँदा वा नरहँदा पनि सदैव पहल गर्ने विश्वास दिलाउनुभयो।
अध्ययनअनुसार प्रत्येक १० मध्ये १ जनालाई मृगौला रोग लाग्ने सम्भावना रहने परिप्रेक्ष्यमा आयोजित यस कार्यक्रमले अंगदान र अंग प्रत्यारोपणको महत्वलाई उजागर गरेको छ। अंग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि स्वस्थ मानिस सरह सक्षम र सबल रूपमा जीवनयापन गर्न सक्छन् भन्ने जनचेतना जगाउँदै कार्यक्रमको समापन गरिएको थियो। विभिन्न अतिथिहरूले यस्ता जनचेतनामूलक अभियानले सर्वसाधारणमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा पनि केन्द्रको उन्नतिमा साथ दिने विचार व्यक्त गर्नुभयो।