ताजा अपडेट

ट्रेन्डिङ

कमेरोटारमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ २३, २०८३
191 पटक हेरिएको
कमेरोटारमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण

समृद्ध भविष्यको आधार जलवायु एवम् प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसर पारेर मध्यपुर थिमीमा भव्य रूपमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च भक्तपुर तथा कमेरोटार जग्गा एकीकरण आयोजना मध्यपुर थिमीको संयुक्त आयोजनामा शुक्रबार सो कार्यक्रम गरिएको हो । कमेरोटार क्षेत्रलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा कपुर, रूद्राक्ष, कल्की र धुपी लगायतका विभिन्न प्रजातिका दुई सय भन्दा बढी बिरुवाहरू रोपिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले रूद्राक्षको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले बिरुवा रोप्नु मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै आफूले रोपेको बिरुवाको पूर्ण संरक्षणको जिम्मेवारी समेत आफैँले लिने विचार राख्नुभयो । स्थानीय सरकार नगरको वातावरणीय सन्तुलन कायम राख्न सदैव तत्पर रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

वृक्षरोपणसँगै आयोजित अन्तरक्रियात्मक कार्यक्रममा वातावरण अभियन्ता र विज्ञहरूले प्रकृति संरक्षणको संवेदनशीलतामाथि विशेष जोड दिएका थिए । वातावरण अभियन्ता प्रतिभा कसपालले प्राकृतिक जीवनचक्र प्रत्यक्ष रूपमा मानवीय जीवनसँग जोडिएको बताउँदै मानव अस्तित्व रक्षाका लागि पनि वनजङ्गलको संरक्षण र संवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी वातावरणविद् बाबुराम श्रेष्ठले स्वच्छ वातावरणका लागि मानिसहरू कुनै एक दिन मात्र नभएर हरेक समय लागिपर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रकृतिमाथि भइरहेको अन्याय र यसले निम्त्याउन सक्ने भयावह मानवीय संकटप्रति स्थानीय सरकार समयमै सजग हुनुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रमका सभापति एवं वातावरण संरक्षण मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरण संरक्षणको कार्यलाई केवल दिवसमा मात्र सीमित नराखी निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण संघ-संस्था तथा स्थानीय बासिन्दाहरूलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा मञ्चका महासचिव मणिराम लामिछाने लगायतका वक्ताहरूले वातावरण जोगाउन समुदायको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।

उक्त हरित अभियानलाई सफल बनाउन डिभिजन वन कार्यालय भक्तपुर, वन पैदावार उद्योग व्यवसायी संघ भक्तपुर, नेप्सेम्याक तथा मध्यपुर थिमी नगरपालिकाले प्राविधिक तथा भौतिक सहयोग गरेका थिए ।