ताजा अपडेट

ट्रेन्डिङ

शिक्षक सेवा आयोगको विज्ञापन पुनः खुल्ने

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ मङ्सिर २०७९, मङ्गलबार
220 पटक हेरिएको
शिक्षक सेवा आयोगको विज्ञापन पुनः खुल्ने
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ ।
केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, निम्न माध्यमिक तहमा ४२३ र माध्यमिक तहमा ३३२ पद रिक्त रहेको तथा सोमा विज्ञापन गरी पदपूर्ति गरिदिन आयोग समक्ष पत्राचार गरेको छ । हरेक वर्षको असोज मसान्तभित्र यस्तो विवरण आयोगलाई बुझाइसक्नुपर्ने नियम छ । तर केन्द्रले आज सो विवरण बुझाएको केन्द्रको शिक्षक व्यवस्थापन शाखाका एक पदाधिकारीले जानकारी दिए ।
गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएकोमा यसपटक सो संख्या ह्वात्तै घट्ने देखिएको छ । गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३७० जना पनि यसपटकको विज्ञापनमा समेटिने भएको छ ।
गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा दुई हजार ५९४ र माध्यमिक तहमा एक हजार ५५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ भने निम्न माध्यमिक तहको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । निम्न माध्यमिक तहको नतिजा सकिएपछि प्राथमिक तहको सार्वजनिक गरिने आयोगले जनाएको छ ।
गत पटक माध्यमिक तहमा करिब ३६ हजारले, निम्न माध्यमिक तहमा करिब ६३ हजारले र प्राथमिक तहमा करिब ६४ हजारले आवेदन दिएका थिए ।