मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी कलेजमा जिल्लाका बुद्धिजिवीहरुको आयोजनामा विहीवार आयोजित मधेशको शैक्षिक अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएको हो । शिक्षामन्त्री यादवले मधेस प्रदेशको शिक्षाको गुणस्तरमा काम गर्न अझै बाँकी रहेकाले वर्तमान सरकारले त्यसमा ध्यान दिइरहेको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर सूर्य यादवको अध्यक्षतामा भएको कायृक्रममा शिक्षालाई निजिकरण गर्ने भनि नेपालको संविधानमा उल्लेख गरेको पक्ष नै विभेदपूर्ण तथा शिक्षाको गुणस्तर खस्काउने कारण रहेको बोडेवर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले बताउनुभयो । स्थानीय तहले पनि शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षाभन्दा भौतिक निर्माणतिर मात्र केन्द्रित भएको उहाँले टिप्पणी गरे ।
शिक्षामा चरम निजिकरण, व्यापारीकरण, राजनीतिकरण रहेको, देशको अर्थतन्त्रसँग शिक्षा क्षेत्रको कुनै तालमेत नहुनु विडम्बना रहेको नागरिक अगुवा कुमार कमलेन्द्रले बताए।
शिक्षामार्फत मातृभाषाको विकास, रोजगार पाउन सक्ने शैक्षिक प्रणालीको विकास नहुनु, वैदेशिक रोजगारप्रतिको आकर्षण, शैक्षिक संस्थालाई राजनीतिक शक्तिको आड बनाउने प्रबृत्ति बढेको क्याम्पस विधार्थी युनियनका पूर्व सभापति केदार यादवले बताए ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव, जनक राजऋषि प्रध्यापक अमरप्रसाद यादव, संविधानसभा सदस्य लक्ष्मी चौधरी, नेपाल रेल्वे संस्थानका महाप्रवन्धक निरन्जन झा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजिवकुमार झा, विधापति पुरस्कार कोषका ध्रुव मंडल लगायतले बोलेका थिए ।
 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
					 
			 
					 
                        		        	 
                        		        	 
										 
										 
										 
										 
										 
										 
				 
    	        	 
    	        	 
					