ताजा अपडेट

ट्रेन्डिङ

मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको हुने

Gyan Khabar

ज्ञानखबर

शनि, बैशाख २७, २०८२
1161 पटक हेरिएको
मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको हुने

मकवानपुरको हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसले यही शनिबारदेखि अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। यसअघि दुई सफल राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिसकेको क्याम्पसले अब अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गर्न लागेको हो।

शनिबारदेखि सुरु हुने यो तीन दिवसीय सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी करिब तीन सय जना विज्ञ र प्रतिनिधिहरूको सहभागिता रहने कुरा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी गराउनुभएको छ। भौतिक र भर्चुअल माध्यमबाट सहभागी हुने यी व्यक्तित्वहरूले ‘दिगो विकासको लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ भन्ने महत्त्वपूर्ण विषयमा गहन छलफल र विचार विमर्श गर्नेछन्।

क्याम्पस प्रमुख सिलवालले सम्मेलनको उद्देश्य स्पष्ट पार्दै भने, “हामी स्थानीय स्तरमा दिगो विकासका लक्ष्यहरूलाई कसरी समाहित गर्न सक्छौँ, युवा विद्यार्थीहरूको क्षमतालाई कसरी अभिवृद्धि गर्न सक्छौँ र यी लक्ष्यहरू प्राप्त गर्ने प्रयासमा युवा विद्यार्थीहरूको भूमिकालाई कसरी बढाउन सक्छौँ भन्ने विषयमा केन्द्रित रहेका छौँ।”

सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले हेटौँडाको एभोकाडो होटलमा हुनेछ। कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुसन्धानकर्ताहरूले आफ्ना खोजमूलक प्रस्तुतिहरू राख्नेछन् भने सम्मेलनकै अवसरमा अनुसन्धनात्मक जर्नल प्रकाशनसमेत गरिनेछ।

विश्वविद्यालय अनुदान आयोग नेपालको महत्त्वपूर्ण सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरूसँगै स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूको सहकार्यमा मकवानपुर बहुमुखी क्याम्पस विश्वविद्यालय बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको कुरा क्याम्पस प्रमुख सिलवालले बताए। यो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन क्याम्पसको यस यात्रामा एक महत्त्वपूर्ण पाइला साबित हुने विश्वास लिइएको छ।

मकवानपुर बहुमुखी क्याम्पसको यो ऐतिहासिक पहलले मकवानपुरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभई दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गर्न र युवाहरूको क्षमता विकासमा पनि महत्त्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ।