ताजा अपडेट

ट्रेन्डिङ

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग

Gyan Khabar

ज्ञानखबर

बुध, असार ३२, २०८२
89 पटक हेरिएको
नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत गैर-नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। यससम्बन्धी समझदारी पत्रमा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे।

नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको नेतृत्वमा सुरु भएको यस परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा अतुलनीय भूमिका खेल्ने बताए। उनले यस्ता निजी स्तरका परियोजनाले राज्यको नीतिलाई सघाउने र दूरदराजका नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले CSR अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले बालबालिकाको स्वास्थ्यमा रूपान्तरण ल्याउन सुरु गरिएको यस परियोजनाका लागि सबैलाई बधाई दिँदै न्यून आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टीकृत अस्पतालमा उपचार पाउन सकून् भन्ने विश्वास व्यक्त गरे।

किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताउँदै कृतज्ञता व्यक्त गरे। उनले नेपाल लाइफ जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले किओचको गरिमा बढेको र काम गर्न थप हौसला मिलेको उल्लेख गरे।

डा. कोइरालाका अनुसार किओच बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्ने, दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर वृद्धि गर्ने र सबै प्रादेशिक बाल अस्पतालका लागि श्रोत केन्द्रको रूपमा केन्द्रीय बाल अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापित भएको हो। यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल स्थापना भई बहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयू लगायतका सेवाहरू प्रदान भइरहेका छन् भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ।