ताजा अपडेट

ट्रेन्डिङ

‘एक्सप्लोर, लर्न र ग्रो’ को नारासहित वी किड्स स्कुलमा चौथो ‘ओपन हाउस’ भव्य रूपमा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र २१, २०८२
869 पटक हेरिएको
‘एक्सप्लोर, लर्न र ग्रो’ को नारासहित वी किड्स स्कुलमा चौथो ‘ओपन हाउस’ भव्य रूपमा सम्पन्न

भक्तपुरस्थित वी किड्स स्कुलले शनिबार आफ्नो चौथो “स्कुल ओपन हाउस” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “एक्सप्लोर, लर्न र ग्रो” अर्थात् अन्वेषण गरौँ, सिकौँ र बढौँ भन्ने मूल अवधारणालाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यक्रमले बालबालिकाको सिकाइलाई कक्षाकोठाको चौघेराभित्र मात्र सीमित नराखी व्यवहारिक अनुभवसँग जोड्ने प्रयास गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो पाठ्यक्रमसँग सम्बन्धित शैक्षिक सामग्री, परम्परागत स्थानीय औजार र मौलिक बाजागाजाको रोचक प्रदर्शनी गरेका थिए। विशेष गरी जीवन उपयोगी सिकाइ अन्तर्गत विद्यार्थीहरूले आफैँले बजार स्थापना गरी अभिभावकहरूसँग सामान किनबेचको अभ्यास गरेका थिए। यस गतिविधिले बालबालिकामा पैसाको महत्त्व बुझाउनुका साथै व्यावहारिक लेनदेन र व्यवस्थापकीय कौशल विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

४०० भन्दा बढी अभिभावक तथा आगन्तुकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयको शैक्षिक अभ्यास र आधुनिक सुविधाहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रिन्सिपल मन्जु दुवालले विद्यालयको वातावरण र शिक्षण पद्धतिबारे प्रकाश पार्दै सम्भावित नयाँ विद्यार्थी र अभिभावकहरूलाई विद्यालयको उच्च-गुणस्तरीय शिक्षा र सिकाइ वातावरणसँग प्रत्यक्ष परिचित गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि तयार पारिएको शैक्षिक पूर्वाधारको प्रत्यक्ष अनुभव गराउन यो कार्यक्रम सफल भएको छ।

Messenger creation 93CAA6AD CF13 4ABC 8DBD 9B873B823DC0

कार्यक्रमको सबैभन्दा आकर्षक पक्ष विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र नेतृत्वदायी भूमिका थियो। कार्यक्रमको उद्घोषण, स्वागत मन्तव्य र धन्यवाद ज्ञापन जस्ता महत्वपूर्ण जिम्मेवारी विद्यार्थीहरू आफैँले निभाएका थिए भने गीत, नृत्य र नाटकमार्फत उनीहरूले आफ्नो कला प्रदर्शन गरे। सहभागी अभिभावकहरूले पाठ्यपुस्तकभन्दा बाहिरका विषयमा विद्यार्थीलाई आत्मनिर्भर बनाउन विद्यालयले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

कार्यक्रमलाई थप रोचक बनाउन बालबालिकाका लागि क्ले वर्क, फेस पेन्टिङ, फोटो स्टेशन र विभिन्न मनोरञ्जनात्मक खेलहरूको व्यवस्था गरिएको थियो। साथै सहभागीहरूका लागि स्वादिष्ट फुड स्टलको समेत व्यवस्था थियो। यस ओपन हाउसले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै व्यावहारिक शिक्षाको नयाँ आयाम प्रस्तुत गरेको छ।

Messenger creation 1E312E1B FD52 4FEC B47F 4FB351E11861