ताजा अपडेट

ट्रेन्डिङ

मिनर्वा स्कुलमा विद्यार्थीद्वारा लोकतान्त्रिक अभ्यास: मतदान मार्फत चुनिए नयाँ नेतृत्व

Gyan Khabar

ज्ञानखबर

आइत, जेष्ठ ३, २०८३
136 पटक हेरिएको
मिनर्वा स्कुलमा विद्यार्थीद्वारा लोकतान्त्रिक अभ्यास: मतदान मार्फत चुनिए नयाँ नेतृत्व

शिक्षालाई केवल पाठ्यपुस्तक र कक्षाकोठाको चौघेराभित्र मात्र सीमित नराखी व्यवहारमा उतार्न कटिबद्ध मिनर्वा ईङ्ग्लिस स्कुलले आज आफ्ना विद्यार्थीहरू माझ एक महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास सम्पन्न गरेको छ।

विद्यालयले सदैव गर्व गर्दै आएको “Learning by Doing” अर्थात् गरेर सिक्ने शिक्षा पद्धतिलाई आत्मसात गर्दै आज स्कुल क्याप्टेन, भाइस-क्याप्टेन तथा विभिन्न हाउस क्याप्टेनहरूको चयनका लागि भव्य रूपमा निर्वाचन प्रक्रिया सम्पन्न गरिएको हो।

निर्वाचनका दौरान विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदान प्रक्रियामा भाग लिएका थिए। सैद्धान्तिक रूपमा मात्र सुन्दै र पढ्दै आएको निर्वाचन, मतदान र लोकतान्त्रिक प्रणालीलाई यसरी प्रत्यक्ष रूपमा अनुभव गर्न पाउँदा विद्यार्थीहरूमा बेग्लै उत्साह र रौनक देखिएको थियो। उम्मेदवार चयनदेखि प्रचार-प्रसार र मतदानको अन्तिम चरणसम्म आइपुग्दा विद्यालय परिसर कुनै राष्ट्रिय निर्वाचनको झल्को दिने गरी चुनावी माहोलमा रङ्गिएको देखिन्थ्यो।

यस प्रकारको निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा सानै उमेरदेखि नेतृत्व कला, जिम्मेवारीको बोध र लोकतान्त्रिक मूल्य-मान्यताको विकास गर्न एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। विद्यालयका अनुसार यस्ता व्यावहारिक अभ्यासको मुख्य उद्देश्य नै भविष्यका लागि सचेत, जिम्मेवार र सक्षम नागरिकको निर्माणमा टेवा पुर्‍याउनु हो। विद्यार्थीहरूले मतदानको मूल्य बुझ्नु र आफ्नो नेतृत्व आफैँ छान्न पाउनुले उनीहरूमा नागरिक दायित्वको भावना बलियो बनाउने विश्वास विद्यालय प्रशासनले लिएको छ।

निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै विद्यालय परिवारले प्रतिस्पर्धामा उत्रिएका सम्पूर्ण उम्मेदवार भाइ-बहिनीहरूलाई हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरेको छ। हार र जितको अङ्कगणित भन्दा माथि उठेर यस प्रक्रियामा सहभागी हुनु र लोकतन्त्रको पाठ प्रत्यक्ष सिक्न पाउनु नै सबैको वास्तविक जित भएको सन्देश विद्यालयले दिएको छ। अन्ततः, मिनर्वा स्कुलको यो सह्रानीय प्रयासले किताबी ज्ञानसँगै जीवनोपयोगी व्यावहारिक शिक्षा दिनु आजको आवश्यकता हो भन्ने कुरालाई पुनः एकपटक प्रमाणित गरिदिएको छ।